दफा १५
सवारी दर्ता गराउन दरखास्त दिनु पर्ने
(१) दफा १४ बमोजिम कुनै सवारी दर्ता गराउनु परेमा त्यस्तो सवारी नेपाल  भित्र खरीद गरेको भए खरीद गर्ने व्यक्ति, फर्म वा कम्पनी वा एजेण्टले सो खरीद गरेको निस्सा र त्यस्तो सवारी विदेशबाट पैठारी गरेको भए पैठारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा एजेन्टले सो सवारीको भन्सार महसुल तिरेको निस्सा तथा अन्य सम्बन्धित कागजात सहित तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
तर कूटनीतिक सुविधा प्राप्त सवारी दर्ता गर्न दर्ता दस्तुर लाग्ने छैन ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको आफ्नो तीन प्रति पासपोर्ट साइजको फोटो समेत दरखास्त साथ संलग्न गरेको हुनुपर्छ ।
(३) सरकारी सवारीको हकमा त्यस्तो सवारी जुन सरकारी कार्यालयको नाममा दर्ता हुने हो सो कार्यालयको पत्र र कूटनीतिक सुविधा प्राप्त सवारीको हकमा नेपाल सरकार, परराष्ट्र« मन्त्रालयको सिफारिसपत्र समेत संलग्न गरेको हुनु पर्छ । कूटनीतिक सुविधा प्राप्त सवारी कुनै व्यक्तिको नाममा दर्ता हुने भएमा निजले आफ्नोे पासपोर्ट वा नागरिकताको प्रतिलिपि एवं तीन प्रति पासपोर्ट साइजको फोटो संलग्न गरेको हुनु पर्छ ।
(४) नेपालभित्र कुनै व्यवसाय तथा काम कारोवार गरी बसेको विदेशी नागरिकले आफ्नोे निजी प्रयोगको निम्ति कुनै सवारी दर्ता गराउन चाहेमा उपदफा (१) र (२) मा लेखिएका कुराहरूका अतिरिक्त सम्बन्धित कूटनीतिक नियोगको सिफारिसपत्र समेत संलग्न गरेको हुनु पर्छ ।
(५) नाबालकको नाममा कुनै सवारी दर्ता गराउनु परेमा निजको तर्फबाट निजको संरक्षकले नाबालक तथा आफ्नोे समेत तीन तीन प्रति पासपोर्ट साइजको फोटो एवं नागरिकताको प्रमाणित प्रतिलिपि समेत संलग्न राखी दरखास्त दिनु पर्छ ।